लमजुङमा शाहवंशीय शासन स्थापना गराउन भूमिका खेलेका खजे दुराको नयाँ शालिक अनावरण

-


     नयाँ दीप    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित


लमजुङको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका खजे दुराको नयाँ शालिक अनावरण गरिएको छ। सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा खजे दुराको ५१औँ स्मृति दिवसका अवसरमा शनिबार नयाँ शालिक अनावरण गरिएको हो।

गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य डा. टकराज गुरुङ र दुरा सेवा समाजका अध्यक्ष सुरेशकुमार दुरालगायतले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्।

डा. गुरुङ गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्री रहँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत शालिक पुनर्निर्माणका लागि बजेट विनियोजन भएको थियो। सोही बजेटबाट मिश्रित धातुबाट निर्मित नयाँ शालिक, शालिक परिसरमा फलामे बार, प्रवेशद्वार तथा गेटदेखि शालिकसम्मको पीसीसी ढलान सुधारलगायतका काम सम्पन्न गरिएको हो।

यसअघि विसं २०३७ मा स्थापना गरिएको शालिकलाई पुनर्निर्माण गरी नयाँ शालिक राखिएको हो। गत असारमै निर्माण सम्पन्न भएको संरचनालाई खजे दुराको ५१औँ स्मृति दिवसका अवसरमा कात्तिक २१ शनिबार गते औपचारिक रूपमा अनावरण गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, दुरा समुदायका अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

को हुन् खजे दुरा ?

खजे दुरा लमजुङमा शाहवंशीय शासन स्थापना गराउन महत्वपूर्ण भूमिका खेल्ने ऐतिहासिक व्यक्तित्व हुन्। तत्कालीन समयमा घले राजाको शासनबाट असन्तुष्ट स्थानीय अगुवाहरूले कास्कीकोटका राजा कुलमण्डल शाहका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङ ल्याएर पहिलो चौबिसे राज्यका राजा बनाउने पहल गरेका थिए। उक्त अभियानमा खजे दुरासहित सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराको भूमिका रहेको ऐतिहासिक विवरणमा उल्लेख छ।

कालु शाहको तत्कालीन घले राजाका सेनाबाट हत्या भएपछि पनि उनीहरू पछि हटेनन्। खजे दुरालगायतका अगुवाले कुलमण्डल शाहका कान्छा छोरा यशोब्रह्म शाहलाई पुनः कास्कीकोटबाट लमजुङ ल्याएर राजा बनाउने पहल गरेका थिए। विसं १५५० असार १५ गते यशोब्रह्म शाहलाई गाउँशहरमा राजगद्दीमा आसीन गराइएको थियो। यस घटनालाई लमजुङमा शाहवंशीय शासन स्थापनाको महत्वपूर्ण आधार मानिन्छ।

यशोब्रह्म शाहपछि उनका सन्तानले लमजुङ दरबारबाट नौ पुस्तासम्म शासन सञ्चालन गरेका थिए। विसं १८३९ सम्म शाहवंशीय राजाहरूले लमजुङमा शासन गरेको इतिहास छ।

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी मानिने गाउँशहरस्थित लमजुङ दरबार यही ऐतिहासिक शासन व्यवस्थाको महत्वपूर्ण धरोहर हो। शाहवंशीय शासनको उद्गमथलका रूपमा परिचित लमजुङको इतिहासमा खजे दुरालगायतका स्थानीय अगुवाहरूको योगदान महत्वपूर्ण मानिन्छ।

खजे दुराको तस्बिर वा प्रत्यक्ष दृश्य अभिलेख नभए पनि उनको योगदान र इतिहासका आधारमा उनको स्मरण हुँदै आएको छ। कलाकार चेतनाथ घिमिरेले विसं २०३३ मा तयार पारेको स्केचका आधारमा विसं २०३७ मा पहिलो शालिक निर्माण गरी च्यानपाटामा स्थापना गरिएको थियो। अहिले सोही शालिकलाई नयाँ स्वरूपमा पुनर्निर्माण गरी अनावरण गरिएको हो।

खजे दुराको योगदानलाई सम्मान गर्दै निर्माण गरिएको नयाँ शालिकले दुरा समुदायको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै लमजुङको इतिहास र भावी पुस्तालाई त्यसबारे जानकारी गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।