कार्यकर्तालाई रविको चेतावनी– ‘एउटा चुनाव जित्दैमा मात्तिनु हुँदैन, भुइँमा टेकौँ’

-


     नयाँ दीप    
     कार्तिक २० गते २०८३ मा प्रकाशित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै तत्काल सच्चिन चेतावनी दिएका छन् ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीका नेता–कार्यकर्ताहरू जनताको विश्वास पाएपछि मात्तिएको र सर्वसाधारणलाई समेत उचित सम्मान गर्न छाडेको भन्दै आत्मआलोचना गरेका हुन् ।

‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन । हामी मात्तिएका छौँ, टुप्पिएका छौँ,’ उनले भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ । यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन ।’

विगतमा पार्टीको चुनाव चिह्न घण्टी बोकेर हिँड्दा राज्य प्रशासनबाट आफ्ना कार्यकर्ताले दुःख पाएको स्मरण गर्दै उनले अहिले निर्वाचन जितेपछि प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिएर प्रतिशोध साँध्ने काम नगर्न निर्देशन दिए ।

‘हिजो हाम्रा साथीहरूलाई दुःख दिने काम भयो भन्दैमा आज म घण्टीको मान्छे हुँ भनेर प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दियौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ उनले भने ।

लामिछानेले रास्वपाले एउटा चुनाव मात्र जितेको उल्लेख गर्दै त्यसैका आधारमा आफूहरूलाई विशेष ठान्न नहुने बताए । ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ,’ उनले भने ।
निर्वाचनको सफलतापछि पार्टीका नेता तथा कार्यकर्तामा देखिएको व्यवहारप्रति सचेत गराउँदै उनले जनताको विश्वास र सम्मान कायम राख्न विनम्र भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।