मध्यनेपालमा बजार अनुगमन : ५६ लिटर पेट्रोल जफत, ११ हजार बढीको सामान नष्ट

-


     नयाँ दीप    
     कार्तिक १९ गते २०८३ मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा अवैध रूपमा बिक्रीका लागि राखिएको ५६ लिटर पेट्रोल जफत गरिएको छ भने म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री गरी ११ हजार ३० रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा मध्यनेपाल नगरपालिका–६ र ७ अन्तर्गत रामबजार तथा भोर्लेटार बजारमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा १० वटा व्यवसायको निरीक्षण गरिएको थियो। निरीक्षण गरिएकामध्ये एउटा मासु पसल र नौवटा किराना, स्टोर्स तथा फलफूल पसल रहेका छन् ।

अनुगमनका क्रममा अवैध रूपमा बिक्रीका लागि राखिएको पेट्रोल जफत गरिएको हो भने किराना पसलबाट ११ हजार ३० रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


तिहारलाई लक्षित गरी बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरी नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको हो। यस क्रममा जिल्ला प्रशासन कार्यालयबाट २०८३ कात्तिक १८ गते जारी सूचनाअनुसार प्लास्टिकजन्य सामग्रीको उत्पादन, प्रयोग तथा बिक्री वितरण नगर्नसमेत व्यवसायीलाई सुझाव दिइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म १८ पटक बजार अनुगमन गरिएको छ। तीमध्ये नौ पटक चाडपर्वलक्षित अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा भएको अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, मध्यनेपाल नगरपालिकाका प्रतिनिधि खिम राना मगर, उपभोक्ता हित संरक्षणका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मालगायतको सहभागिता थियो।
जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीका अनुसार तिहारका समयमा बजारमा प्लास्टिकजन्य सामग्रीको बिक्री वितरण, खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ता अधिकार संरक्षण गर्न बजार अनुगमनलाई निरन्तरता दिइनेछ।