
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आज भिडियो सन्देश जारी गर्दै सभापति थापाले आधिकारिकताको लडाइँमा एक रुपैयाँसमेत लेनदेन नभएको बताउनुभएको हो। उहाँले भन्नुभयो, “हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन।”
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा पार्टीको आधिकारिकताका विषयमा थापाले बार्गेनिङ गरेको उल्लेख भएपछि उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो।
सापकोटाले भनेकै आधारमा आफूले जवाफ दिइरहन आवश्यक नभए पनि केही विषय स्पष्ट पार्नुपर्ने देखिएको थापाले बताउनुभयो। उहाँले घटनाबारे राम्रोसँग अनुसन्धान हुनुपर्ने र अनुसन्धानबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गर्नुभयो।
विशेष महाधिवेशनलाई पार्टीका तल्लो तहका कार्यकर्ताको विद्रोहको संज्ञा दिँदै थापाले विद्रोह गर्नेहरूले त्यसको परिणाम के हुन्छ भनेर चिन्ता नगर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो। विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ ?”









