जलविद्युत् आयोजनामा खोजी तीव्र, टनेलदेखि भग्नावशेषसम्म छानबिन

-


     नयाँ दीप    
     भाद्र २३ गते २०८३ मा प्रकाशित


काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य मंगलबार पनि तीव्र पारिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधिसहितका संयुक्त टोलीले रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे तथा त्रिशूलीका विभिन्न आयोजनामा खोजी गरेका छन्।

रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोंगास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी गर्दा एक शव फेला परेको सेनाले जनाएको छ।

चिलिमे आयोजनाको टनेलभित्र विन्च र बकेटको प्रयोग गरी भग्नावशेष हटाउँदै खोजी भइरहेको छ। टोली टनेलभित्र करिब ११५ मिटरसम्म पुगेको छ। माथिल्लो त्रिशूली–१ आयोजनामा पनि मुख्य टनेलभित्र करिब ४०० मिटरसम्म पुगेर खोजी गरिएको छ।

यस्तै, त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’मा तीनवटा एस्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गर्दा सम्पर्कविहीन व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।

बाढीले पुरिएका संरचना, टनेलमा जमेको लेदो–भग्नावशेष र कठिन भौगोलिक अवस्थाका कारण उद्धारमा चुनौती देखिएको छ। रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।