
भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार आज राति कृष्ण जन्मको विशेष पूजा तथा आराधना गरिन्छ। देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि पूजा, भजनकीर्तन तथा दर्शनका लागि भक्तजन पुगेका छन्।
लमजुङमा पनि विभिन्न कृष्ण मन्दिरमा विशेष पूजाआराधनाका कार्यक्रम भइरहेका छन्। भक्तजनले व्रत बसेर भगवान् कृष्णको पूजा गर्ने तथा राति जन्मोत्सव मनाउने तयारी गरेका छन्।
यसैबीच, लमजुङका नेवार समुदायले कृष्ण जन्माष्टमीसँग जोडेर परम्परागत रूपमा मनाउँदै आएको रोपाइँ जात्रा भने यस वर्ष स्थगित गरिएको छ। भोटेकोशी बाढी तथा पहिरोबाट देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र मुलुक विपद्को पीडामा रहेका बेला उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उपयुक्त नहुने भन्दै रोपाइँ जात्रा स्थगित गरिएको बेसीशहर नेवा खलले जनाएको छ ।
रोपाइँ जात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परामध्ये एक हो। सामान्यतया गाईजात्रापछि विभिन्न ठाउँमा रोपाइँ जात्रा निकाल्ने गरिन्छ, जसमा झाँकी, नाचगान, बाजागाजा तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ।
यस वर्ष भने विपद्मा परेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै लमजुङमा रोपाइँ जात्राका कार्यक्रम स्थगित गरिएको हो। पर्वको धार्मिक पक्षलाई निरन्तरता दिँदै कृष्ण मन्दिरमा पूजा–आराधना गरिए पनि सांस्कृतिक उत्सवका रूपमा मनाइने रोपाइँ जात्रा भने नगर्ने निर्णयले विपद्को समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ।









