भोटेकोशी बाढीले क्षति पुर्‍याएका २० झोलुंगे पुलको मर्मत थालियो

-


     नयाँ दीप    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त झोलुंगे पुलको मर्मत सुरु भएको छ। सरकारले बाढीबाट क्षति पुगेका २० वटा झोलुंगे पुल मर्मतको काम अघि बढाएको हो।

भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटा पुलमा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्यांकनपछि तीमध्ये २० वटा पुल तत्काल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

सरकारले मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरेपछि महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भएको छ। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त तथा पुनर्निर्माण गर्नुपर्ने थप ३३ वटा झोलुंगे पुलका लागि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

बाढीपछि आवतजावतमा समस्या उत्पन्न भएका प्रभावित क्षेत्रका स्थानीयलाई सहज बनाउन सरकारले मर्मत तथा पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।