
लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि शनिबार पनि पसल खोल्न आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ।
यसअघि सार्वजनिक बिदाको दिनका रूपमा शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा भदौ २० गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म शनिबार पनि व्यवसाय सञ्चालन गर्न संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको छ।
संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चाडपर्व अवधिमा शनिबार पनि व्यवसाय सञ्चालनका लागि आग्रह गर्ने निर्णय गरेको हो।
संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई स्थानीय बजारको अवस्था, आफ्नो आवश्यकता र परिस्थितिअनुसार शनिबार व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।









