बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न इन्सेकको माग

-


     नयाँ दीप    
     भाद्र १५ गते २०८३ मा प्रकाशित


लमजुङ । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउन इन्सेकले सरकारसँग माग गरेको छ।

बेपत्ता पारिएका व्यक्तिहरूको १६औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार इन्सेक लमजुङ प्रतिनिधि सुमित्रा भुजेलले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएकी हुन्।

इन्सेकले द्वन्द्व सकिएको लामो समय बितिसक्दा पनि बेपत्ता परिवारले सत्य, न्याय र परिपूरण पाउन नसकेको जनाएको छ। विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उसको भनाइ छ।

इन्सेकले पीडितको अर्थपूर्ण सहभागितासहित संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन, बेपत्ता परिवारलाई न्याय र परिपूरण सुनिश्चित गर्न तथा जबर्जस्ती बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्न सरकारसँग आग्रह गरेको छ।