
बाढी तथा विपद्का क्रममा भेटिएका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काजमा खटाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई टिमुरे क्षेत्रलाई केन्द्र बनाएर काम गर्ने गरी रसुवा पठाइएको हो। उनले बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा समन्वय गर्नेछन्।
निरौलाले केही दिनअघि सामाजिक सञ्जालमार्फत पहिचान नखुलेका शव तत्काल गाड्नुभन्दा पहिले आफन्तको खोजी र शवको पहिचानलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका थिए। बाढीमा आफन्त गुमाएका परिवार अझै ‘सास वा लास’ को खोजीमा रहेकाले हतारमा शव गाड्दा पहिचान गर्ने अवसर गुम्न सक्ने उनको भनाइ थियो।
उनले मृतकको धर्म, संस्कार र परिवारको भावनालाई ध्यान दिएर अन्तिम संस्कारको व्यवस्था गर्नुपर्ने बताएका थिए। लामो समय शव राख्दा स्वास्थ्य जोखिम हुने भए आवश्यक फ्रिज तथा अन्य सुरक्षित व्यवस्थामार्फत केही समय शव संरक्षण गर्न सकिने उनको सुझाव थियो।
कोरोना महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा आफूले भोगेको अनुभवसमेत उनले सार्वजनिक गरेका थिए। परिवारको आग्रहपछि आफन्तले टाढैबाट भए पनि दागबत्ती दिन र अन्तिम श्रद्धाञ्जली दिन पाउने व्यवस्था गरिएको उनले बताएका थिए।
निरौलाले शव व्यवस्थापनसम्बन्धी सुझाव दिएको भोलिपल्टै उनलाई रसुवा काजमा खटाइएपछि प्रशासनिक वृत्तमा यो निर्णयलाई चासोका साथ हेरिएको छ। उनको फेसबुक स्टाटस भने अहिले हटाइसकिएको छ।
अब सामाजिक सञ्जालमार्फत आफूले दिएको सुझावलाई बाढी प्रभावित रसुवामै कार्यान्वयन गर्ने जिम्मेवारी निरौलाले पाएका छन्।









