राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

-


     भरत बाबु घिमिरे    
     श्रावण १ गते २०८३ मा प्रकाशित


नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे ।

श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा ओझेलमा परेका राष्ट्रिय व्यक्तित्वको योगदानलाई संरक्षण गर्दै भावी पुस्तासम्म पुराउनु रहेको बताउनुभयो।

इतिहास अनुसार वि.सं. १५ सय १० असोज २७ गते लमजुङमा जन्मिएका श्री ३ कुश्माखर उपाध्याय घिमिरेले वि.सं. १५५० तिर तत्कालीन राज्य सञ्चालनलाई व्यवस्थित बनाउन यशोब्रह्म शाहलाई पुरानकोट दरबारमा राज्याभिषेक गराई केही समयपछि गाउँशहर दरबारमा ल्याएर लमजुङको राजा बनाई राज्य सञ्चालन गराएको उल्लेख छ।

राज्य सुरक्षासम्बन्धी शास्त्रका ज्ञाता मानिने घिमिरेले सबै जातजातिलाई समान अवसर प्रदान गर्ने समावेशी राज्य व्यवस्थाको अवधारणालाई अघि बढाएको इतिहासकारहरूको भनाइ छ। उहाँ नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकारसमेत रहेको विश्वास गरिन्छ। लमजुङका आठवटा कोटको प्रतिनिधित्वस्वरूप राष्ट्रिय झण्डामा रहेका आठ कोण समावेश गरिएको ऐतिहासिक मान्यता रहेको भन्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।

शालिक स्थापना गर्न आवश्यक ४ आना ३ पैसा २ दाम जग्गा बेसीशहर नगरपालिका–३ बाहुनबेँसी निवासी स्वर्गीय डिल्लीराज घिमिरेकी धर्मपत्नी हिमादेवी घिमिरेले निःशुल्क दान गर्नुभएको थियो। उहाँको योगदानको कदर गर्दै प्रतिष्ठानले सम्मानपत्र प्रदान गरी मानार्थ सदस्यता प्रदान गरेको छ।

प्रतिष्ठानका अनुसार रानीकुवामा स्थापना गरिएको यो शालिकले कुश्माखर उपाध्याय घिमिरेको ऐतिहासिक योगदानलाई संरक्षण गर्न, नयाँ पुस्तालाई आफ्नो इतिहाससँग परिचित गराउन तथा लमजुङको ऐतिहासिक पहिचानलाई थप उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको स्थानीय अगंराज घिमिरेले बताउनुभयो ।