बाढी–पहिरोको जोखिम बढ्दै, मर्स्याङ्दी गाउँपालिकाले जारी गर्‍यो सतर्कता अपिल

-


     नयाँ दीप    
     असार २४ गते २०८३ मा प्रकाशित


लगातारको वर्षासँगै मनसुन सक्रिय बनेपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न थालेको भन्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले बुधबार सार्वजनिक गरेको अपिलमा विगतका वर्षहरूमा बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै यस वर्ष पनि निरन्तर वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको हो।

अपिलमा मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र पूर्वानुमानलाई गम्भीरतापूर्वक पालना गर्न, अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो टोल–बस्तीमा निरन्तर सतर्क रहन आग्रह गरिएको छ। सम्भावित विपद्को घटना भएमा तत्काल नजिकको प्रहरी चौकी, सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

गाउँपालिकाले सम्भावित विपद्का बेला उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, युवा तथा स्थानीयवासीलाई आवश्यक समन्वय र सहयोगका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङद्वारा हस्ताक्षरित अपिलमा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सरकारी निकाय, जनप्रतिनिधि र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

मनसुन अवधिभर सबै नागरिकले उच्च सतर्कता अपनाए सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्दै गाउँपालिकाले सुरक्षित रहन सम्पूर्ण गाउँवासीमा हार्दिक अपिल गरेको छ।