
लमजुङको मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै भव्य रूपमा सम्पन्न भएको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु। ६८ करोड ८७ लाख १८ हजार ५ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।
गाउँसभाले बजेटसँगै विभिन्न महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। पारित भएका विधेयकमध्ये विज्ञापन व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक, २०८३, मर्स्याङ्दी गाउँपालिका निःशुल्क विद्युत् सुविधा सम्बन्धी विधेयक, २०८३, कर्मचारी कल्याण कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०८३, आर्थिक वर्ष २०८२र०८३ को खर्च अनुमोदनसम्बन्धी प्रस्ताव तथा कार्यपालिका र विभिन्न समितिका बैठकका निर्णय अनुमोदनसम्बन्धी प्रस्ताव रहेका छन्।
यसै अवसरमा गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि तयार गरेको ‘हाम्रो मर्स्याङ्दी’ नामक स्थानीय पाठ्यपुस्तक पनि सार्वजनिक गरेको छ। चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पुस्तकको विमोचन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल तथा सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का अध्यक्ष तिलबहादुर गुरुङले संयुक्त रूपमा गरेका हुन्।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा–व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषयवस्तुबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले चार वर्षअघि कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरेको थियो भने यस वर्षदेखि त्यसलाई कक्षा ८ सम्म विस्तार गर्दै सोहीअनुसारको पाठ्यपुस्तक तयार गरिएको हो। हाल गाउँपालिकाभित्रका ५५ विद्यालयमा ‘हाम्रो मर्स्याङ्दी’ पठनपाठन भइरहेको छ।
पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएका छन्। यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार गहिरो अध्ययन, छलफल र सुझावका आधारमा पुस्तक तयार गरिएको हो। भूमिदत्त पौडेलको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गरेका छन्।
सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासँग जोड्ने यो प्रयास गाउँपालिकाको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उपाध्यक्ष जुनामाया थापाले पाठ्यपुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज र संस्कृतिप्रति गर्व, अपनत्व र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।
भुलभुलेस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरे सभाहलमा आयोजित २१औँ गाउँसभाले विकास, सुशासन, शिक्षा तथा स्थानीय पहिचान संरक्षणलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्षका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।









