मर्स्याङ्दीमा सुरक्षित वैदेशिक रोजगारी सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया सम्पन्न

-


     नयाँ दीप    
     असार २ गते २०८३ मा प्रकाशित


मर्स्याङ्दी गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, गुणस्तरीय र नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले विषयगत समिति तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

भुलभुलेस्थित गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका अवसर, सेवा प्रवाहको वर्तमान अवस्था, सरोकारवाला निकायहरूको भूमिका, विद्यमान चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने तथा विदेशबाट फर्किएका नागरिकहरूको हकहित, सुरक्षा र पुनःएकीकरणलाई प्राथमिकतामा राख्दै स्थानीय तहबाट प्रदान गरिने सेवाहरूलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका गण्डकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्मा र कार्यक्रम अधिकृत शिव रेग्मीले सुरक्षित वैदेशिक रोजगारी, आप्रवासी श्रमिकका अधिकार, वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम न्यूनीकरण तथा स्थानीय तहको भूमिकाबारे प्रस्तुतीकरण दिएका थिए। उनीहरूले सुरक्षित र सूचनामूलक वैदेशिक रोजगारीका लागि स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औंल्याएका थिए।

अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, विषयगत समितिका पदाधिकारी, शाखा प्रमुख तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रोजगार संयोजक नन्दराज गुरुङले गरेका थिए।

गाउँपालिकाका अनुसार यस प्रकारका कार्यक्रमले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन गर्नुका साथै स्थानीय तहबाट प्रवाह हुने सेवाहरूलाई थप सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।