
लमजुङको मर्स्याङ्दीमा गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। मस्र्याङ्दी गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको हो।
मस्र्याङ्दी–९ खुदीस्थित साम्बाचोकमा आयोजित कार्यक्रमका क्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापा, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्थानीय युवा क्लबका प्रतिनिधिहरू, चालक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई सडक सुरक्षाको महत्त्वबारे जानकारी दिइएको थियो। कार्यक्रममा सुरक्षित, संयमित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्नुपर्ने विषयमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सिट क्षमता भन्दा बढी यात्रु नराख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको थियो। साथै, यस्ता सचेतनामूलक कार्यक्रमले सडक सुरक्षा संस्कृति विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।









