
लमजुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना (मोडल) मतदान कार्यक्रम सम्पन्न गरिएको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
शुक्रबार बेसीशहरको फुलबारीमा भएको नमुना मतदान कार्यक्रममा जम्मा मतदाता ९ सय मध्ये ६ सय ९५ उपस्थित भएका थिए। जसमा पुरुष ३ सय जना र महिला ३९५ जनाले मतदान गरेको थिए । जसमा ६० वटा मतपत्रमा छाप नलगाएको पाईएको थियो ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले कार्यक्रममा मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदान कक्षको प्रयोग तथा मतपेटिकामा मत खसाल्ने सम्पूर्ण प्रक्रिया अभ्यास गराइएको थियो। निर्वाचनका क्रममा सामान्य त्रुटिका कारण बदर मत बढ्ने भएकाले त्यसलाई न्यूनिकरण गर्न नमुना मतदान प्रभावकारी हुने कार्यालयको विश्वास छ।
कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ। मतदातालाई मतदान केन्द्रमा निर्धक्क र सचेत रूपमा सहभागी हुन समेत आग्रह गरिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाभर तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।










