
नवौं लमजुङ महोत्सवको अवसरमा लमजुङको मर्स्याङ्दी नदीमा सञ्चालन गरिएको र्याफ्टिङ कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ। महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यले नदीमा साहसिक पर्यटन गतिविधि समावेश गरिएपछि बेसीशहर आसपासको क्षेत्र चहलपहलयुक्त बनेको छ।
महोत्सव अवधिभर मस्र्याङ्दी नदीमा सुरक्षित रूपमा र्याफ्टिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साहसिक खेलमा खेलमध्ये पर्ने र्याफटिङ लागि मर्सयाङदी नदी विश्वकै उत्कृष्ट १० मा पर्दछ । मर्स्याङ्दी नदीको विच विचमा बनेको जलविद्युत परियोजनाले अहिले यसको दुरी समेत घटाएको छ ।

महोत्सवको अवसरमा आयोजित र्याफ्टिङ लागि २ वटा स्थान तय गरिएको छ । लामो तथा एडभेन्चर र्याफ्टिङ गर्न चाहनेका लागि बेसीशहरको बेलौती विसौनाबाट कर्पुरेश्वर मन्दिर क्षेत्रसम्मको लागि रु २५ सय तोकिएको छ भने छाटो दुरीको लागि पुमाखोलाको दोभानबाट कर्पुरेश्वर मन्दिर क्षेत्रसम्म लागि रु १ हजार शुल्क तोकिएको छ ।
हिमाली क्षेत्रबाट बग्ने मस्र्याङ्दी नदी साहसिक खेलप्रेमीका लागि उपयुक्त मानिन्छ। र्याफ्टिङका क्रममा नदीको तीव्र बहाव, प्राकृतिक दृश्य र रोमाञ्चक अनुभवले सहभागीहरू उत्साहित देखिएका छन्।
स्थानीय तह, पर्यटन व्यवसायी र सुरक्षाकर्मीको समन्वयमा र्याफ्टिङ सञ्चालन गरिएको छ। आवश्यक सुरक्षा सामग्री, अनुभवी गाइड र प्राथमिक उपचारको व्यवस्था गरिएको हुँदा सहभागीहरूले ढुक्क भएर नदी यात्रा गर्न पाएका छन्।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, खानाका परिकारसँगै साहसिक पर्यटन जोडिँदा लमजुङको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता गतिविधिले लमजुङलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्नेछ।
नवौं लमजुङ महोत्सवले संस्कृति, व्यापार र पर्यटनलाई एकसाथ जोड्दै जिल्लाको समग्र विकासमा योगदान दिने अपेक्षा गरिएको छ। २० गते सम्म तय भएको महोत्सव १ दिन थप गरि माघ २१ गतेसम्म सञ्चालन हुने भएको छ ।









