
लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबार देखि बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा हुने नवौं लमजुङ महोत्सवको ८० प्रतिशत तयारी सकिएको छ।
स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी सकिएको आयोजक लमजुङ उद्योण बाणिज्य संघले जनाएको हो।
महोत्सवका लागि मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक तथा प्रवद्र्धक तय गर्ने, सचिवालय तथा उपसमिति गठन, अतिथि निमन्त्रणा, टिकट छपाई, आवश्यक कर्मचारी व्यवस्थापन देखि मञ्च तथा स्टल निर्माण, खानेपानी र विद्युत व्यवस्थापन लगायतका ८० प्रतिशत कार्यहरुको सकिएको मूल समारोह समितिका संयोजक भरतकुमार श्रेष्ठले बताउनु भएको छ।
उहाँका अनुसार अहिले महोत्सवको मुख्य स्टेज, सचिवालय, २ सय २० वटा व्यापारिक स्टल, प्रवेशद्वार, लण्डन ब्रिज र वाल उद्यानका संरचनाहरु निर्माणकार्य भईरहेको छ। संरचनागत हिसाबले अन्य महोत्सव भन्दा फरक यसपटक लण्डन ब्रिज निर्माण हुने भएको छ।
त्यसैगरी मस्र्याङ्दी नदीमा र्याफ्टिङ गराउनुका साथै हेलिकोप्टर उडान मार्फत् जिल्लाका पर्यटकीय स्थलहरुक अवलोकन गराउने प्रयास भईरहेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। महोत्सवकै अवसरमा संघले कोसेली घर सञ्चालन गर्ने तयारी गरिरहेको छ।
जिल्लाको स्थानीय व्यापार व्यवसाय सँगै कृषि, पर्यटन, जडीबुटी, हस्तकला, लोक कला, संस्कृति प्रवद्र्धन, स्थानीय प्रतिभा पहिचान गर्ने लक्ष्यका साथ आफुहरु महोत्सवको तयारीमा लागेको संघका महासचिव विपिन श्रेष्ठले बताउनु भएको छ। कृषि, पशुपंक्षी, हस्तकला प्रदर्शनी, होमस्टे तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको उहाँले बताउनु भएको छ।
गण्डकी प्रदेशका आर्थिम मामिला मन्त्री डाक्टर टकराज गुरुङले नवौं लमजुङ महोत्सवको उद्घाटन गर्ने तय भएको छ । सो महोत्सवका लागि मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने प्रायोजकमा रिलायवल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सहप्रायोजकमा बोटलर्स नेपाल तराई लिमिटेड रहेको जनाईएको छ।
त्यसैगरी प्रवद्र्धकहरुमा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, जिल्ला समन्वय समिति लमजुङ, जिल्लाका आठ वटै स्थानीय तह, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड लगायतका सरोकारवाला निकाय रहेका छन्। टिकट सौजन्यमा मनाङ मस्र्याङ्दी ग्रुप प्रालि र गेट सौजन्यमा सरस वेभरेज प्रालि रेडबुल रहेका छन्। महोत्सवमा झण्डै डेढलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।









