अति प्रभावित क्षेत्रका बासिन्दाको मर्स्याङ्दी बेँसी हाइड्रो बन्नुपर्ने माग

-


     नयाँ दीप    
     पौष ४ गते २०८२ मा प्रकाशित


लमजुङको सदरमुकाम क्षेत्र भित्र निर्माण हुन लाागेको ५० मेगावाटको मस्र्याङ्दी बेँसी जलविद्युत आयोजनाको रोकिएको कामलाई तत्काल सञ्चालन गर्नुपर्ने अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका– १० का बासिन्दाले माग गरेका छन् ।

दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरबासीको अबरोधका कारण निर्माण कार्य बन्द भएको छ ।

अति प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रमुख जिल्ला अधिकारी र बेसीशहर नगरपालिका प्रमुख समक्ष आयोजना निर्माणको काममा भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग सहित ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उक्त पत्रमा जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आयोजना निर्माण हुने विषयमा सहमति रहेको विषय उल्लेख गरिएको छ ।

’मुलुकसँगै जिल्लाको आर्थिक र समृद्धिको आधार स्तम्भ जलविद्युत आयोजना हो, यो अवरुद्ध हुनु गम्भीर विषय हो । जलविद्युत कम्पनीले अति प्रभावित क्षेत्रका बासिन्दाको माग र मुद्दालाई सम्बोधन गरि आयोजना सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो विषयमा हामी सहमत छौं । आयोजनाको काम सञ्चालन गर्न जिल्ला प्रशासन मार्फत तदारुकता जनाइदिन अनुरोध गर्दछौं ।’ पत्रमा भनिएको छ । जलविद्युत आयोजना निर्माण कार्य सुचारु गर्ने जिल्ला प्रशासनको कदमप्रति अति प्रभावित क्षेत्रका बासिन्दा साथमा रहने समेत उल्लेख गरिएको छ ।

बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा आयोजनाको जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने गरी ५० मेगावाटको आयोजना निर्माण गर्न लागिएको हो ।यता बेसीशहरबासी मस्र्याङ्दी बचाउ अभियान नै सञ्चालन गरेर विद्युत गृह निर्माण पश्चात दिर्घकालिनरुपमा पर्यवरणमा असर पर्ने र नदी सुकाएपछि सदरमुकामको सुन्दरता समेत हराउने भन्दै कुनै पनि हालतमा आयोजना निर्माण हुन नदिने अडान लिदैँ आएका छन् भने बेसीशहरमा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।