
बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको आम्दानीबाट ५० लाख ४२ हजार रुपैँया बचत भएको छ । मंसिर २ देखि १० गतेसम्म आयोजित महायज्ञमा विभिन्न दाताहरुबाट प्राप्त दान सहयोग ६९ लाख ४२ हजार छ सय २२ र कलश बिक्रीबाट ५६ हजार गरि कूल ६९ लाख ९८ हजार छ सय २२ रुपैयाँ आम्दानी भएको हो ।
महायज्ञ मूल आयोजक लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरेको हो
समितिका अनुसार महायज्ञका क्रममा गुरुहरु, कलाकार, वाद्यवादक, पण्डाल, साउण्ड सिष्टम, सम्मानपत्र छपाई, फ्रेम र रामनामी लगायतका सामाग्री व्यवस्थापन खर्च अन्तर्गत पण्डित दिपकप्रसाद पौडेललाई एकमुष्ट १३ लाख ५० हजार रुपैयाँ खर्च दिईएको छ।
त्यसैगरी कलाकार वाद्यवादक दक्षिणा २३ हजार, विद्युत जडान खर्च आठहजार, ईन्धन तथा खाजामा तीनहजार, पर्यटन गोष्ठी तथा विकास परिसंवाद कार्यक्रम सञ्चालन अतिथि खाना खर्च २० हजार, भक्तजन प्रसाद खर्च २१ हजार नौसय ६० रुपैयाँ, वाद्यवादक तथा कलाकार खाना खर्च ६० हजार, व्यानर तथा फोटोफ्रेम खर्च ६२ हजार पाँचसय २० रुपैयाँ, माईक मर्मत खर्च चारहजार तीनसय रुपैयाँ खर्च भएको छ।
त्यस्तै, माईकको लागि आवश्यक सामाग्री खरिद पाँचहजार दुईसय ५० रुपैयाँ, अस्थायी शौचालय निर्माण सामाग्री खरिद एकहजार पाँचसय ९० रुपैयाँ, मण्डप सजावट र पुजा सामाग्री खरिद १७ हजार एकसय ४५ रुपैयाँ, पत्राचार तथा प्रचार सामाग्री छपाई आठ हजार, कलशयात्रा बाजा व्यवस्थापन १२ हजार आठसय रुपैयाँ, प्रचारप्रसार यातायात साधान ७५ हजार रुपैयाँ, यातायात इन्धन १५ हजार रुपैयाँ, पत्रकार सम्मेलन, अतिथि सत्कार तथा सचिवालय बैठक चिया, खाजा, खाना खर्च १९ हजार रुपैयाँ, कलश खरिद १ लाख ३८ हजार दुईसय, सञ्चार माध्यम विज्ञापन खर्च २९ हजार पाँचसय र पत्राचार तथा आयोजक परिचय पत्र खर्च ४ हजार एकसय गरी कूल १८ लाख ९० हजार तीनसय ६५ रुपैयाँ भुक्तानी गरिएको र भुक्तानी दिन बाँकी ६० हजार एकसय गरी कूल १९ लाख ५० हजार चारसय ६५ रुपैयाँ खर्च भएको जनाईएको छ।
कूल खर्च कटाएर महायज्ञ आयोजक समिति सँग ५० लाख ४८ हजार एकसय ५७ रुपैयाँ बचत रहेको आम्दानी खर्च विवरण प्रस्तुतिका क्रममा जानकारी गराईएको छ।
कालिका मन्दिरमा नित्य पुजारी व्यवस्थापन, धर्मशाला लगायतका संरचना निर्माण र मन्दिर क्षेत्र विकास सञ्चालन सहयोगको पवित्र लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको बताईएको छ। छिट्टै आवश्यक प्रकृया पुरा गरेर लक्ष्य अनुरुपको कार्य गरिने पनि आयोजकले छन्।









