गाउँशहरको पर्यटन प्रवद्र्धन गर्न महायज्ञमा पर्यटन परिसंवाद

-


     नयाँ दीप    
     मंसिर ७ गते २०८२ मा प्रकाशित


बेसीशहर नगरपालिका ३ गाउँशहरोस्थित लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भावगत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत शुक्रबार ग्रामिण पर्यटन परिसंवाद कार्यक्रम गरिएको छ ।

ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल गाउँशहर क्षेत्रको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महायज्ञका अवसरमा काउलेपानी होमस्टेमा ग्रामीण पर्यटन, होमस्टे सञ्चालन सिकाई परिसंवाद कार्यक्रम गरिएको हो ।

महोत्सव अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न होमस्टे सञ्चालक, जनप्रतिनिधि, पर्यटनकर्मी, स्थानीय अगुवा र पर्यटक प्रतिनिधिका विच अन्तर्कृया गरिएको छ । कार्यक्रममा जिल्लामा पर्यटनको अवस्था, होमस्टे सञ्चालनको अवस्था, समस्या, चुनौती र असल अभ्यासहरु आदानप्रदान गरिएको थियो । पर्यटकीय गाउँमा प्रकृति र संस्कृतिको भरपूर उपयोग, रैथानेस्वादका जैविक उत्पादन र स्थानीय अभ्यासको उचित संयोजन जस्ता विषयमा उचित ध्यान दिनुपर्ने सहभागीहरुले बताए ।

जिल्लाका ४५ गाउँमा होमस्टेको अभ्यास गरिएकोमा ३० वटा गाउँमा विधिवत् रुपमा दर्ता गरि सञ्चालनमा रहेका छन् । कार्यक्रममा तिनै होमस्टेबाट सहभागी प्रतिनिधिले आ–आफ्नो गाउँमा गरिएका होमस्टे अभ्यास, भोगेका समस्या, चुनौती र सफलताको कथाहरु प्रस्तुत गरेका थिए । बेसीशहर नगरपालिका वडा नं ६ पुमागाउँ सामुदायिक होमस्टेका अध्यक्ष दुर्गाबहादुर गुरुङ, वडा नं १० खासुर सामुदायिक होमस्टेका अध्यक्ष नन्द घले, मस्र्याङ्दी गाउँपालिका ५ स्थित खानीगाउँ रकगार्डेन सामुदायिक होमस्टेका परिकल्पनाकार एवं संस्थापक कामसार्की गुरुङले आफ्ना उत्कृष्ट अभ्यासहरु प्रस्तुत गरे।

सो अवसरमा महायज्ञ अन्तर्गत प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्र बोहराले ग्रामिण पर्यटकीय गन्तव्यको व्यवस्थापन र होमस्टे सञ्चालनका फरक–फरक अभ्यास र त्यसबाट लिन सकिने सृजनात्मक सिकाईका विषयवस्तुहरु प्रस्तुत गरे। त्यसैगरी काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङ र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगीतले पाहुना स्वागत, सत्कार, आतित्थ्यता, होमस्टे सञ्चालन तथा व्यवस्थापन विषयमा प्रस्तुतिकरण गरेका थिए ।


कार्यक्रममा बेसीशहर नगरकार्यपालिका सदस्य श्रीनाथ दुलाल, लमजुङ माविका अध्यक्ष कृष्ण देउजा, काउलेपानी होमस्टे प्रतिनिधि जगतबहादुर गुरूङ लगायतले पर्यटन केन्द्रित सुझाव र अवधारणा प्रस्तुत गरे । श्रीमद्भागवत महापुराण पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक देवबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार उपसमिति सदस्य सञ्चारकर्मी किसान संगीतले सञ्चालन गरेका थिए।