
आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । लमजुङ जिल्लाको विभिन्न ठाउँमा ठूलो मेला लागेको छ । जिल्लाको पाउँदी, खुदी, सिसाघाट, बेसीशहरको कर्पुरेश्वर लगायतका ठाउँमा एकादशी मेला लागेको हो ।
हरिबोधनी एकादशी पर्वको अवसरमा बेसीशहरको कर्पुरेश्वर, खुदी, पाउँदीमा बाजागाजा तथा भजन किर्तन गर्दै मस्र्याङदी नदीमा फूलको डोली तथा फूलको डोरी तारिएको छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने चलन रहेको छ।
हरीबोधनी एकादशीको अवसरमा मस्र्याङदी गाउँपालिकाको खुदीमा तेस्रो मस्र्याङ्दी महोत्सव तथा विभिन्न खेलकुद प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।










