
सोमबार भएको जेनजीको प्रदर्शन पछि देशका विभिन्न कारागारबाट १४ हजार ३ सय ७ धेरै कैदीबन्दी भागेका छन् । कारागारबाट भागेका कैदीबन्दीमध्ये १ हजार ४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका क्रममा भागेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको हो ।
‘जेन–जी’ प्रदर्शनका क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड, आगजनीपछि हिरासतमा रहेका अभियुक्त र कारागारमा रहेका कैदीबन्दी भागेका थिए ।
१५ जिल्लाबाट संकलन गरेको विवरण अनुसार कम्तीमा १४ हजारभन्दा धेरै कैदीबन्दी जेलबाट भागेका थिए । तीमध्ये कति पक्राउ परे र कति बाहिर छन् भन्ने एकीकृत विवरण सम्बन्धित निकायसँगै छैन ।
सोमबारको प्रदर्शनपछि देशैभरिका कारागारबाट भागेका हजारौँ कैदीबन्दीहरुमध्ये केही सय पक्राउ परेपनि जघन्य अपराधमा मुछिएका कैदीबन्दीका कारण समाज असुरक्षित बन्ने खतरा बढेको छ । यसरी फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ परेकाहरूलाई सम्बन्धित जेलमा पठाउने काम भइरहेको बताए । पक्राउ परेका र आफै फर्केका बाहेक अझै पनि हजारौंको संख्यामा कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएपछि अन्य कारागाबाट पनि कैदी बन्दी भाग्न सुरु गरेका थिए । उनले आफूलाई कारागार प्रशासनले निस्कन बाध्य पारेको दाबी गर्दै आएका छन् । नख्खु कारागारबाट मात्रै १४ सय कैदी बन्दी फरार रहेका छन् ।
जेन–जी आन्दोलनको चार दिन भइसक्दा पनि जेलहरूमा कारागार व्यवस्थापन विभागले पूर्ण सुरक्षा कायम राख्न सकिसकेको छैन ।










