
जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।
अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन ।
अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो ।
अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । अस्पतालहरूका अनुसार ज्यान गुमाउने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ुजेन जीु पुस्ता भनिन्छ ।
जेन जी हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् । यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन् । तर सरकारले सडकमा आएको पहिलो दिन नै जेन जी माथि बर्बरतापूर्वक गोली चलाएको छ ।
जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंस दमनपछि गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन् । पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्ततः उनी पद त्याग गर्न तयार भएका हुन्।









