
नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ ।
दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ।
महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकार फरक फरक छन्। आधुनिकतासँगै खाने परिकारहरूमा पनि फरक आउन थालेको छ।
दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ। हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ।
पहिला पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्थ्यो । पहिले हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ।
परापुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र त्यसपछि उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।











