
कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।
यसैबीच कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरूलाई कैदीबन्दीले भित्र जानबाट रोकेका छन्। कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको छ ।
कैदीबन्दीहरुले कसैलाई पनि जान नदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले सिलिण्डर, रड राखेर ढोकामा उभिएका छन्। यस्तै मिडियालाई पनि अस्पताल र कारागार जानबाट रोकिएको छ। घटनाबारे आफन्तलाई पनि जानकारी दिइएको छैन।
एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।











