लमजुङ कारागार भत्किएपछि कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण

-


     सृजना बराल     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार गत ३२ गते बुधबार गेटसँगैको पर्खाल भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । सम्भावित भौतिक तथा मानबिय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको हो ।

शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले पुरुष कैदी बन्दीलाई ४ बटा बस र महिलालाई हाईस माइक्रोमा राखेर गन्तव्यमा पु¥याइएको थियो ।

जिल्लामै बस्नु पर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तक्र्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि उनीहरु शनिबार स्थानान्तरण हुन सहमत भएका थिए । कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने बताइएको छ । अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रजिअ र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी बताउनुभयो ।

यसैगरी यहाँ बन्दीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजारीकरणको जिम्मा कारागार प्रशासनले लिने सहमति भएको छ । कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । जिल्ला कारागार लमजुङमा १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको क्षमता भए पनि यतिखेर तेब्बर भन्दा बढी १०८ जना कैदी र थुनुवाहरु रहेका छन् ।

विस २०२८ सालमा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको समयमा नै निर्माण गरिएको यस कारागारको समय समयमा मर्मत सम्भार गरिएको भए पनि हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले भवन समेत जीर्ण भएको र पर्खालहरूमा समस्या देखिएको बताउनुभयो । विगतका वर्षमा पनि कारागारको पर्खालको केहि भाग भत्किने गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले यथासिघ्र कारागारको पर्खाल मर्मतका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने बताउनुभयो ।