सोमबारदेखि सबै विद्यालय बन्द गर्ने शिक्षक महासंघ घोषणा

-


     नयाँ दीप    
     चैत्र २४ गते २०८१ मा प्रकाशित


नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।

यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । साथ यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं भनिएको छ ।

शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।

शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणलगायत कार्य प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ ।

शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।