
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) भोली चैत ७ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक तयारीहरू पूरा भएको छ । यसवर्षको एसईई परीक्षामा २,९४० जना परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये २,४९७ जना साधारण, १७१ जना प्राविधिक तथा ११ जना ग्रेड वृद्धिका परीक्षार्थी छन् ।
गत वर्षको तुलनामा यसवर्ष परीक्षार्थीको संख्या २९१ ले बढेको छ । अघिल्लो वर्ष २,६५० विद्यार्थीले परीक्षा दिएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई लमजुङका अनुसार जिल्लाभर १६ परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा परीक्षा केन्द्र तोकिएका छन्। बेसीशहर नगरपालिकामा ५ परीक्षा केन्द्र रहेका छन्। मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिकामा ३÷३ परीक्षा केन्द्र छन्। दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकामा १÷१ परीक्षा केन्द्र तोकिएको छ। क्होलासोथर र दूधपोखरी गाउँपालिकामा भने कुनै पनि परीक्षा केन्द्र तोकिएको छैन।
यस वर्ष सबैभन्दा धेरै परीक्षार्थी भूपू सैनिक आमावि बेसीशहरमा ३३८ जना रहेका छन् भने सबैभन्दा कम परीक्षार्थी बीरभक्ति मावि तार्कुघाटमा ११६ जना रहेका छन्।
जनविकास मावि बेसीशहरमा २७९ जना, भक्ति नमूना माविमा २३२ जना, कुसुमाकर माविमा २१० जना परीक्षार्थी परीक्षा दिनेछन् । शैलपुत्री माविमा १९२ जना, भैरवकाली माविमा १८८ जना, अमर माविमा १८२ जना, जनकल्याण माविमा १७२ जना, आदर्शबाल माविमा १७८ जना परीक्षार्थी छन्।
जनविकास मावि चण्डिडाँडामा १६५ जना, विद्याज्योती माविमा १४८ जना, बालकल्याण माविमा १४५ जना, चैतन्योदय माविमा १४४ जना र ईशानेश्वर माविमा १२९ जना परीक्षार्थी रहेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार परीक्षा सुरक्षाका लागि सबै तयारी पूरा भइसकेको छ। प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङका अनुसार प्रहरी चौकीहरूमा प्रश्नपत्र र उत्तरपुस्तिका पठाइसकिएको छ।
सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै संयोजन गरी व्यवस्था गरिएको छ। परीक्षालाई निष्पक्ष, मर्यादित, र व्यवस्थित बनाउन परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगी कर्मचारीहरू खटाइएका छन्।