प्रथम मध्यनेपाल महोत्सव सुरु, नेपालकै मध्यबिन्दु भानुभक्त घाँसी सम्वाद स्थल पर्यटनसँग जोडिने

-


     नयाँ दीप    
     पौष २४ गते २०८१ मा प्रकाशित


उत्पादन पर्यटन प्रबद्र्धन स्थानीय कला संस्कृतिको उत्थान भन्ने नाराका साथ मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले लमजुङमा प्रथम मध्यनेपाल महोत्सव २०८१ सुरुभएको छ । उक्त महोत्सव पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सव सुरु हुनुअघि मध्यनेपालका विभिन्न स्थानबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईको आयोजना र मध्यनेपाल नगरपालिका संरक्षक रहेको उक्त महोत्सव मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले उदघाटन गर्नुभयो ।

नेपालकै मध्यबिन्दुमा रहेको दुईपिप्लेको ऐतिहासिकतालाई प्रचार प्रसार गरी यहाँको धार्मिक पर्यटकीय गतिविधि प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।

महोत्सवमा ठाडो भाका, सति घाटु, कौरा, बालुन, लाखे, टाकटुके लगायतका जातजातिका संस्कृति प्रदर्शन गरिने छ । त्यस्तै औधोगिक प्रदर्शनी, कृषि प्रदर्शनी, झाँकी प्रदर्शनी, परम्परागत संस्कृति, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, आमा समुहको नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरिने आयोजकको भनाई छ ।

महोत्सवमा १२० वटा स्टल रहने छन् भने स्थानीय कृषि उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको आयोजकले बताएको छ । महोत्सवले जडिबुटी, पर्यटन व्यवसाय प्रबद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । त्यस्तै आदिकवि भानुभक्त आचार्य घाँसी सम्वाद स्थल, मध्यबिन्दु स्तम्भ लगायतका धार्मिक स्थललाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रम उद्योग वाणिज्य संघ दुईपिप्ले इकाई अध्यक्ष रमेशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।