
नेपाल सरकारका सूचना सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकको ठूलो धनराशी खर्चिएको शिक्षा क्षेत्रले आशातित उपलब्धी दिन नसक्दा सरकार चिन्तित रहेको बताउनु भएको छ । उहाँले प्याब्सन लमजुङद्वारा पुस २४ गते आयोजित ३४ औं प्याब्सन दिवसको उद्घाटन गर्दै त्यस्तो बताउनु भएको हो ।
सञ्चारमन्त्री गुरुङले निजी क्षेत्रका विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा दिएको योगदान प्रसंशनीय रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा विधेयक छलफलमा रहेको जानकारी दिदै त्यो लागू भएसँगै शिक्षा क्षेत्रमा देखिएको धेरै अन्योल र निराशाजनक स्थितिको अन्त्य हुने बताउनु भयो । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले अहिले विदेश पलायन हुने स्थितिको अत्न्यका लागि सरकारले चिन्ताका साथ काम गरिरहेको समेत जानकारी दिनुभयो । त्यस्तै संसदमा विचाराधिन रहेका १९ विधेयकसमेत हिउँदे अधिवेशनमा पास गर्ने तयारीमा सरकार रहेको छ, मन्त्री गुरुङले भन्नुभयो ।

प्याव्सन दिवसका अबसरमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । त्यस्तै विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयका विद्यार्थी पुरस्कृत भएका छन् । त्यस्तै उत्कृष्ट नतिजा ल्याउन सफल युनिभर्सल एकेडमीका अध्यक्ष ओम बहादुर घिमिरेलाई सम्मान गरिएको छ ।
प्याव्सनका अध्यक्ष मेन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला इन्चार्ज जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमाल, बेसीशहर नगर प्रमुख गुमानसिंह अर्याल, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, क्होलासोँथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बृद्ध बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्याव्सनका सचिव विमल अधिकारीले सञ्चालन गर्नुभएको थियो ।