ए.पि.एफ फुटबल क्लव र बुद्ध युथ क्लव भोटेओडार त्रिवेणी कपको फाइनलमा प्रवेश, शनिबार फाइनलमा भिड्ने

-


     भरत बाबु घिमिरे     
     पौष १९ गते २०८१ मा प्रकाशित


ए.पि.एफ फुटबल क्लव काठमाडौं र बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेका छन् ।

लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज भएको सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लवलाई १ का विरुद्ध २ गोलले हराउँदै ए.पि.एफ फुटबल क्लव काठमाडौं फाइनलमा पुगेको छ ।

खेल सुरुवातको २१ औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका हरी कार्कीले १ गोल गर्दै अग्रता दिलाएका थिए भने आयोजक त्रिवेणी क्लवका विदेशी खेलाडि व्याङगरले ६७ औं मिनेटमा १ गोल फर्काएर खेल बराबरीमा पुराए । खेलको ७७ औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका हरी कार्कीले गरेको एक गोल नै फाइनलमा जानको लागि निर्णायक गोल बन्न पुग्यो । विभागिय टिम ए.पि.एफ फुटबल क्लव काठमाडौंले फाइनलको यात्रा तय गरेपछि घरेलु मैदानमा हजारौं दर्शकको साथ र समर्थन पाएको आयोजक त्रिवेणी युवाक्लवको यात्रा भने सेमिफाइनलबाट सकिएको छ ।

आजको दोस्रो खेल टोखा भगवती क्लव काठमाडौं र बुद्ध युथ क्लव भोटेओडार लमजुङ विच भएको थियो । खेल समायवधी भर निकै प्रयास गर्दा पनि दुबै टिमले गोल गर्न सकेनन् । निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेल ट्राइबेकरमा पुगेका थियो । ट्राइबेकरबाट सडन डेथमा ४ का विरुद्ध ५ गोलले टोखा भगवती क्लव काठमाडौलाई हराउँदै बुद्ध युथ (क्लव वि.वाई.सी) भोटेओडार लमजुङ फाइनलमा पुगेको छ । बुद्ध युथ क्लव (वि.वाई.सी) भोटेओडार यस अघि तीन पटक सम्मको त्रिवेणी कपको विजेता हो ।

त्रिवेणी कपमा २ पटक सम्म फाइनलमा हार बेहोरेको टोखा भगवती क्लव काठमाडौंको ३२ औं त्रिवेणी कपको अहिले यात्रा पनि सेमिफाइननबाट नै सकिएको छ ।

आजको खेलको विजेता पहिलो फाइनलमा प्रवेश गर्ने टिम ए.पि.एफ फुटबल क्लव काठमाडौंका प्रदिप लामा र वि.वाई.सी भोटेओडारका गोल किपर कुसल मोक्तान म्यान अफ द म्याच घोषित भई रु ७ हजार ५ सय प्रतिव्यक्ति प्राप्त गरेका छन् ।


जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ ।प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २⁄२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५⁄२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।