
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले शनिबार छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाएको छ । अभियान सुरुवातको दिनदेखि प्रचारप्रसार गरी जन्मदिनमा वृक्षरोपण अभियानलाई देश तथा विदेशसम्म फैलाउन सहयोग पु¥याएको भन्दै २ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ ।
सम्मानित हुनेमा नयाँ दीप डट कम कि सम्पादक तथा प्राईम टेलिभिजनको लमजुङ जिल्ला सम्वाददाताको रुपमा कार्यरत सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट र स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त वृक्षारोपण स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । दुवैजना पत्रकारहरुलाई नगद पाँच हजार पाँच रुपैया र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तैगरी अभियानलाई उल्लेख्य सहयोग पु¥याएको भन्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयका प्रमुख राधा भण्डारीलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार तथा अध्यक्ष बासुदेव सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वन डिभिजन कार्यालय लमजुङका सुचना अधिकारी सन्तोष खनाल, लमजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरत विष्ट लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरु विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले तथा आमा समूहले नृत्य तथा गित प्रस्तुत गरेका थिए भने अन्य उपस्थित साहित्यकारहरुले जन्मदिनमा वृक्षरोपण सम्वन्धी गित प्रस्तुत गर्नुभएको थियो ।

अभियानका सदस्य लक्ष्मी धितालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव राजु गुरुङले कार्यक्रममा सहजिकरण गनुभएको थियो ।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार तथा अध्यक्ष बासुदेव सेढाईले कार्यक्रम पश्चात जिल्ला समन्वय परिषरमा विरुवा रोपेर आफ्नो जन्मदिन मनाउनुभएको थियो । प्रकृति वातावरण संरक्षण, प्राणी जगतको रक्षा, आर्थिक उन्नती, असल र सभ्य संस्कारको विकास र सर्वगुण सम्पन्न मानवको परिकल्पना गर्दै लमजुङ जिल्लाबाट सुरुवात भएको अभियान हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।
देशका प्रधानमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरु देखि लिएर सर्वधारण तथा विद्यार्थीहरुले समेत वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउने प्रचलन बढ्दै गएको अध्यक्ष सेढाईले बताउनुभयो ।

अभियानले जन्मदिनमा वृक्षरोपणमा सहज होस् भन्ने उद्धेश्यले बेसीशहर २ भकुन्डेमा आफ्नै नर्सरी पनि स्थापना गरेको छ । नर्सरीमा जडिबुटीका विरुवाहरु उत्पादन गरिएको अभियानले जनाएको छ ।