वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

-


     नयाँ दीप    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् । नव नियुक्त मन्त्री पौडेलले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए । यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो । पौडेल लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुन् भने नेपाली कांग्रेसका निवर्तमान सभापति समेत हुन् । भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए ।

भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए । कांग्रेसकै भागबाट नेपाल समाजवादी पार्टी सांसद फणीन्द्र देवकोटा भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् । सरकारमा एमालेका तर्फबाट ४ जना मन्त्री छन् ।

लमजुङ क्षेत्र नं १ बाट निर्वाचित हाल नेपाली काग्रेसका जिल्ला सभापति रहेका डा. टकराज गुरुङ यस अघि नै गण्डकी प्रदेशको अर्थ मन्त्रीमा नियुक्त भएका छन् ।