
प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट नियन्त्रणमा लिनुपूर्व जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो ।
जिल्ला अदालत, कस्कीका ६ जना न्यायाधीश छन् । दशैं विदा सकिएर शुक्रबार कार्यालय खुल्दा कोही पनि थिएनन् । न्यायाधीश कृष्णजंग शाह शुक्रबार दिउँसो नेपालगञ्जबाट पोखरा आए । दिउँसो ३ बजेतिर अदालत हाजिर भएका उनले रविलाई पक्राउ अनुमति दिए भने छविलाल जोशीको म्याद थपे ।
लगतै कास्की, प्रहरीले रविलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धन कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्र लेख्यो । त्यही पत्रका आधारमा सीआईबीले पूर्व गृहमन्त्री लामिछानेलाई पक्राउ गरेको छ । लगतै उनलाई सडक मार्गबाट पोखरा लगिएको छ ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिए ।
कास्की प्रहरीका अनुसार ६ असोजमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा सहकारी ऐनअनुसार ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । अब रविमाथि पनि फौजदारी अनुसन्धान हुनेछ ।
जनताबाट संकलन गरेको पुँजी सामूहिक हितमा परिचालन गर्न स्थापित सहकारीको रकम अपचलन गम्भिर अपराध भएकाले सहकारी ठगीको कसूर अनुसूची–१ मा राखिएको उनी बताउँछन् । सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार, १० करोडभन्दा माथिको सहकारी ठगितको आरोपमा ६ देखि ८ वर्ष कैद हुने व्यवस्था छ ।
७ असार २०७९ मा नयाँ दल (रास्वपा) खोलेर राजनीतिमा आएका लामिछाने यसअघि पनि गम्भीर विवादमा मुछिएका थिए । उनीमाथि दोहोरो (नेपाल र अमेरिका) को नागरिकता र राहदानी प्रयोग गरेको गम्भीर आरोप लागेको थियो ।
दोहोरो नागरिकताको मुद्दामा सर्वोच्च अदालतले १३ माघ २०७९ मा लामिछोनलाई दोषी ठहर गर्दै सांसद पदबाट मुक्त ग¥यो । किनकी उनले अमेरिकी ग्रिन कार्ड लिने बेलामा त्यागेको नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवारी दिएका थिए । रविले त्यसको केही घण्टाभित्रै नयाँ नेपाली नागरिकता लिए ।
तर अमेरिका र नेपालको दोहोरो राहदानी (पासपोर्ट) प्रयोगको विषय प्रहरी अनुसन्धानमै थियो । यो विषयमा मुद्दा चलेको भए रविमाथि त्यसबेला नै फौजदारी अनुसन्धान हुनसक्थ्यो । तर तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ‘आधार र प्रमाण नपुग्ने’ भन्दै राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरे ।