
६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई शनिवार बालमैत्री वडा घोषणा गरिएको हो ।
चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीलाई बालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेर वडा नम्बर ११ बालमैत्री वडा भएको घोषणा गनुभएको थियो ।
प्रमुख अतिथी नगरप्रमुख अर्यालले कार्यक्रमको उद्घाटन र बालबालिकाको वस्तुगत विवरण–२०८१ प्रस्तुत गर्दै घरदेखि विद्यालय र विद्यालयदेखि समुदायसम्म बालवालिकालाई बालमैत्री ब्यबहार गर्नुपर्ने बताउनुभयो । अभिभावकले गर्ने व्यवहार र बोलीचालीले बालबालिकालाई ठूलो प्रभाव पार्ने भएकोले बालबालिकाका अगाडि जथाभावी बोल्न र गलत व्यवहार गर्न नहुने अर्यालले बताउनुभयो ।
बालमैत्री वडा घोषणाका लागी तयार पारिएको ५१ सुचक पूरा गरेमा वडा नम्बर ११ ले कूल ९६ प्रतिशत अङ्क प्राप्त गरी बालमैत्री वडा बनेको छ । बालमैत्री वडा घोषणा गर्न कम्तीमा ८० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ ।
बालमैत्री वडा घोषण कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, वल्र्ड भिजन इन्टरनेशनल नेपालका निर्देशक अनुप राना, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्याल, नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष राजकुमार विष्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक पुरी, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, बेसीशहरका शिक्षा शाखाका प्रमुख किसानराज चिलुवाल, ग्रामीण समुदायिक विकास केन्द्र (आरसीडीसी)का अध्यक्ष राजेन्द्र बोहरा, बेसीशहरका विभिन्न वडाका वडा अध्यक्षरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालमैत्री घोषण गर्दा पूरा गर्नुपर्ने ५१ वटा सूंचकको अबस्थाका बारेमा नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी गराउनुभएको थियो । ५१ वटा सूचकमा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्नेलगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित बिषयहरु रहेका छन् ।
बेसीशहर वडा नम्बर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीको अध्यक्षतामा भएको बालमैत्री वडा घोषण कार्यक्रममा स्वागत वडा सदस्य विजयराज सेढाईँले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विनोदबाबु सेढाईले गर्नुभएको थियो ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सूचक अनुसार आर्थिक, भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरु र आमा समहुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । औपचारिक घोषणा कार्यक्रम अघि आमा समुह लगायतले ¥याली निकालेका थिए । बालमैत्री घोषणा कार्यक्रमलाई सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको नगरपालिकका प्रेस सल्लाकार कृष्ण केसिले जानकारी दिनु भयो ।
बेसीशहर नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री स्थानीय शासन बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता गरिएकोमा वडा नम्बर ११ सहित हालसम्म ६ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।