प्राविधिक शिक्षा जेटिएमा विद्यार्थीको आकर्षण घट्दै, ७ हजारमै पढ्न पाएपनि विद्यार्थी संख्या भने न्यून

-


     भरत बाबु घिमिरे     
     भाद्र ११ गते २०८१ मा प्रकाशित


लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेको ग्रामीण तालिम केन्द्रमा जेटिए पढ्ने विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएको छ । न्यून शुल्क जम्मा ७ हजारमै १८ महिने जेटिए कोर्ष पढ्न पाउने भएपनि विद्यार्थीहरुको आकर्षण भने निकै कम भएको हो ।

प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आंगिक संस्थाको रूपमा रहेको ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१\०८२ का लागि नयाँ भर्नाको लागि विज्ञापन खुले पश्चात ४० जनाको कोटामा जम्मा ३ जना फर्म भर्न सम्र्पकमा आएका छन् ।
गतवर्ष ९ जना भर्ना भएका थिए । जेटिएको कोर्ष पढाउन सुरु गएिको पहिल वर्ष २०७५⁄०७६ सालमा ४० जना विद्यार्थीहरु भर्ना भएका थिए भने विस्तारै त्यो संख्या घटेर ५⁄६ वर्षको अवधिमा न्यून हुन पुगेको हो ।

पछिल्लो समय गाउँ गाउँका विद्यालयमा नै प्लस टु को अध्यापन हुने, अधिकाशं बालबालिलकाहरु प्लस टु सकिएपछि विदेशतिर जाने वा सहरतिर जाने हुनाले पनि विद्यार्थीको संख्या न्यून भएको ग्रामिण तालिम केन्द्र खुदीका लेखा अधिकृत अच्युत रेग्मीले बताउनुभयो । दोस्रोपटक एस.ई.ई.दिएका विद्यार्थीहरुको लागि फेरी विज्ञापन गरिएको रेग्मीले बताउनुभयो ।
सिक कमाउ र तिर भन्ने उद्धेश्य सहित सो ग्रामिण तालिम केन्द्रबाट छोटो अवधिका ३ सय ९० घण्टाका विभिन्न सिपमूलक तालिमहरु समेत प्रदान गरिदै आएको छ ।

केन्द्रका अनुसार उक्त तालिम केन्द्रमा प्रशिक्षार्थीहरूले सिक्दै कमाउदै पढ्न पाउने छन् । सैद्धान्तिक तथा प्रयोगात्मक दुबै बिधिबाट अध्ययन गराइने तालिम केन्द्रमा टाढाका प्रशिक्षार्थीका लागि छात्राबासको समेत ब्यवस्था रहेको छ ।
२०४८ सालमा स्थापना भएको सो तालिम केन्द्रमा सिपमूलक तालिमहरु प्रदान गरि सयौंको संख्यामा दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

मर्स्याङदी नदीको किनारमा शान्त र स्वच्छ वातावरणमा रहेको यो तालिम केन्द्र सिटिइभिटी अन्तर्गत लमजुङको एकमात्र आंगिक संस्था हो । बाली बिज्ञान संकायमा १ बर्ष ६ महिने कोर्ष अध्ययन गर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.ई.ई.उत्तीर्ण भए पुग्छ । एस.ई.ई.मा जुनसुकै ग्रेडमा उत्तीर्ण भए पनि यो बिषयमा अध्ययन गर्न सकिने तालिम केन्द्रले जनाएको छ ।