हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

-


     भरत बाबु घिमिरे    
     श्रावण २९ गते २०८१ मा प्रकाशित


लमजुङमा साउन महिनाभर २० जनामा डेङ्गी संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार आ.व. ७९⁄८० मा २ सय ४० जनामा डेङ्गी भएको थियो भने ०८०⁄०८१ मा ५ सय ९ जनालाई डेङ्गी सङ्क्रमण भएको थियो ।

वर्षाका बेला घर वरपर पानी जम्ने, जम्मा भएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढ्ने खनालले बताउनुभयो । विषेश गरी असोज र कार्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी फैलने भए पनि यसको रोकथामका लागि अहिले देखि नै विभिन्न सरसफाई तथा जनचेतनाका कार्यक्रमहरु गरिरहेको प्रमुख खनालले बताउनुभयो । कार्यक्रम अन्तरगत प्रत्येक शुक्रबार जिल्ला स्थित कार्यलयहरु सरसफाई गर्ने जमेको पानी फाल्ने, पालिका तथा विद्यालयहरुमा पनि खोज र फाल अभियानका संचालन गर्नुका साथै जनचेतनामुलक सुचनाहरु प्रवाह गरिएको बताइएको छ ।

देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि काम सुरु गरेको छ ।

पानीजन्य रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित निकाय तथा पदाधिकारीसँग समन्वय गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेङ्गी प्रकोप नियन्त्रणका लागि सातै प्रदेशमा डेङ्गी परीक्षण प्रयोगशाला स्थापना गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र पालिकासँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । टोलीले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् ।

डेङ्गी नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै पालिकामासमेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ ।

केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गी सङ्क्रमण पनि बढ्नसक्ने आकलन गरिएको छ । शाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ ।

डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्छ । डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्नेजस्ता काम गर्नुपर्छ ।