
ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा चैतेदशैं मेलाको आयोजना गरिएको छ । गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन चैतेदशैं मेलाको आयोजना गरिएको हो ।
कार्यक्रमको एक समारोहका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गनुभएको थियो ।
आयोजक गाउँशहरमा रहेका लमजुङ कालिका युथ क्लवको अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नेपाली सेनाका पुर्व सेनापति पुर्णचन्द्र थापा, बेसीशहर वडा नं २ का वडाध्यक्ष मदन राना, स्थानीय समाजसेवी राजेन्द्र बोहरा, राजकुमार दुलाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । पत्रकार किसान संगितले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो भने वडा नं ३ का वडा सदस्य कृष्ण भुजेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो अबसरमा लमजुङको गाउँशहरमा जन्मेर साङ्गितिक क्षेत्रमा योगदान दियको भन्दै लोकगायक राजु परियार, गायिकाहरु माया गुरुङ र मन्जु बिकलाई सम्मान गरिएको छ ।

दर्शकहरुको निकै उत्साहमा कार्यक्रम भै रहे पनि साझपख एक्कासी आएको हावाहुरीले मन्च नै उडाइदिएपछि कार्यक्रम प्रभावित भएको छ ।
सदरमुकाम बेसीशहरबाट ८ किलोमिटरको दुरीमा रहेको गाउँशहरमा शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लागेको छ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिएका छन् ।

कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशोब्रह्म शाहको शालिक, कुसुण्डे ओडार, पुरानोकोट गढी, शान्ति स्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय गाउँशहरका अन्य आकर्षक गन्तब्यहरु हुन् ।
गाउँशहर प्रकृतिक सुन्दरताले भरिपूर्ण ठाउँसमेत हो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक उनन्तीस, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् ।
गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मर्स्याङदी नदी र यसको किनारामा रहेको लमजुङ सदरमुकाम बेसीशहरको दृष्यावलोकन गर्न सकिन्छ । ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, भुजेल, सार्की, दमै, कामी जातिको मिश्रित बसोबास रहेको गाउँशहर सांस्कृतिक रुपमा उतिकै महत्वपूर्ण स्थान हो ।

नेपालकै उत्कृष्ट होमस्टेको उपमा पाएको काउलेपानी होमस्टे गाउँशहरमै पर्छ । लमजुङकै जेठो विद्यालय लमजुङ माध्यमिक विद्यालयसमेत यही ठाउँमा पर्दछ ।
गाउँशहर बाईसी, चौबिसी र शाहवंशीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको सुरुवात भएको मानिन्छ । तत्कालीन लमजुङका राजकुमार द्रब्य शाहले लिगलिग हुँदै गोरखा राज्यमा विजय पाएपछि नै उनका बंशज पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको खाका कोर्न सजिलो भएको ईतिहास रहेको छ ।