पर्यटकहरुको रोजाइमा राइनासकोट

-


     पवनबाबु घिमिरे    
     चैत्र २२ गते २०८० मा प्रकाशित


लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । ऐतिहासिक तथा प्राकृतिक रुपले भरिपूर्ण राइनासकोटमा अन्य सयममा पनि दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

कुनै चाडपर्व वा विषेश होस् अथवा विदाको दिन राइनासकोटमा उल्लेख्य रुपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायत १८ ओटा हिमाल देख्न सकिन्छ । नेपालको एकीकरणको शुरूको विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय बताउँछन् ।

विश्वकै पहिलो योग स्तम्भ साथै यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेका छन् । यतिवेला रातम्मै भएर फूलेको लालिगुँरासको जगंल देख्दा पर्यटकहरु मन्त्रमुग्ध भइ प्रफुल्ल हुने गरेका छन् ।

लालिगुँरासको जगंल

पुराना शैलीका घरहरु, गुरुङ समुदाय तथा उनीहरुको धर्म संस्कृती, स्थानीय स्वाद लिई प्राकृतिक रुपमा रमाउनको लागि राइनासकोट होमस्टे पर्यटकहरुका लागि निकै उत्कृष्ट गन्तव्य बन्न थालेको छ । सूर्योदयको पनि अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासी लगायतका १६ वटा जिल्ला एकसाथ देख्न सकिन्छ ।

गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आँगन, आकाशे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएको छ । राइनासकोटमा रहेका केही पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको यस गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालय समेत स्थापना गरिएको छ ।

कृषि पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको यस गाउँका प्रत्येक घरमा कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँची खेती शुरु गरिएको छ ।
ऐतिहासिक रुपमा पनि राइनासकोट उत्तिकै महत्वपूर्ण रहेको छ । बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ ।

परम्परागत घुमाउने घर

२०७२ सालको भुकम्पले क्षति पुराएको राइनासकोटमा केही पुननिर्माण गरिएका पछि २०७५ फागुनदेखि ११ घरबाट होमस्टेको शुरुआत भए पनि यतिबेला सिंगो गाउँ अर्थात् १७ ओटा घरमा घरवास छन् । गाउँमा सञ्चालित सबै घरवासमा गरेर वार्षिक करोडौं रुपैयाँको आम्दानी हुँदै आएको छ ।

राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो ।