लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ

-


     नयाँ दीप    
     चैत्र १३ गते २०८० मा प्रकाशित


लमजुङमा अवैध लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा अवैध लागुऔषध अफिम खेती गरिरहेको मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ बर्षिय हिमाल लामा थिङ पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामा सहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने कार्यमा संलग्न बरामद गरिएका सामाग्री सार्वजनीक गरेको छ । अफिमको दाना (पप्पी) बाट निस्किने चोपलाई लागूऔषधका रुपमा प्रयोग गरिने प्रहरीले जनाएको छ । 

पक्राउ परेका लामा विगत १ बर्षदेखी उक्त स्थानमा विष्णु सुवेदीको खेतबारी रेखदेख गरी बस्दै आएका थिए । पोखरामा बसोबास गर्ने सुवेदीले ३, ४ बर्ष अघि मात्रै सुर्यपालमा जग्गा किनेर उनी विदेश तिर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईका अनुसार पक्राउ परेका लामालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

अफिम खेती २५ बोटसम्म गरिए १ देखि ३ वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । २५ बोट भन्दामाथि जतिसुकै भए पनि ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ ।