लमजुङमा कफी उत्पादन घट्दै, माग बढ्दै

-


     नयाँ दीप    
     चैत्र ८ गते २०८० मा प्रकाशित


लमजुङमा कफी उत्पादनमा बृद्धी हुन सकेको छैन । किसानहरुलाई उपयुक्त तालिम, अनुदान, मल, सिंचाईको अभाव तथा उत्पादित कफीको बजारको सहजता लगायतमा सहयोग भनएपछि उत्पादनमा पनि कमी हुन थालेको हो ।

विगत १ दशक अघि लमजुङका किसानहरु कफी खेती तर्फ निकै हौसिएका थिए । आफ्नो खाली रहेको जग्गा तथा खेतबारीमा समेत कफी खेती सुरु गरेका किसानहरुले पछिल्लो समय कफी खेती प्रति निराश भई विस्तार गर्न सकेका छैनन् ।

लमजुङको हावापानी कफी खेतीका लागि उपयुक्त मानिन्छ तर सहज तथा सहुलियत ऋणको उपलब्ध हुन नसक्नु, मल तथा सिंचाईको अभाव, र विरुवामा रोग किराले सताउँदा सम्बन्धीत निकायबाट सरसल्लाह तथा सहयोगको समेत अभाव भएपछि किसानहरु नै कफी खेतीबाट विस्थापित हुन थालेका छन् ।

कफी खेतीका लागि आधुनिक मेशिन औजारको पनि अभाव, विरुवामा लागेको रोग किराको लागि गुणस्तरीय औषधीको अभाव हुँदा यसका लागि स्थानीय सरकारले र कृषी ज्ञान केन्द्रले पनि ध्यान नदिएको कफी किसानहरुको गुनासो छ ।

उत्पादित कफी पनि बेलाबेलामा बेच्नको लागि समस्या हुने बेसीशहरका कफी किसान देविदास बरालले बताउनुभयो । प्राय जसो बाहिर जिल्लाबाट किन्नको लागि व्यापारीहरु आउने गरेको र उनीहरुले राम्रो मुल्य नदिने उहाँको भनाई छ । विभिन्न अभावका कारण लमजुङमा कफीको प्रचुर सम्भावाना हुँदाहुँदै पनि व्यवसायिक रुपमा कफी विस्तार गर्न सकेका छैनन् । कफी किसानहरुले कुनै पनि संघ सस्थाको सहयोग नपाएको बरालले बताउनुभयो ।

लमजुङ जिल्लाम कति क्षेत्रफलमा कफी खेती गरिएको छ र कति मात्रामा उत्पादन हुन्छ भन्ने तत्थ्याङ कृषी ज्ञान केन्द्रसगँ पनि छैन । अहिले ज्ञान केन्द्रले सबै पालिकाका कृषि शाखालाई खेतीबालीको तत्थ्याङ्क संकलन गर्न लगाएका कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।

नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीे उत्पादनको सम्भावना देखिन्छ तर २ हजार ६ सय ५० हेक्टरमा कफी खेती भइरहेको छ । तर कफी खेतीबारे सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा उत्पादनमा बृद्धी हुन सकेको छैन ।

नेपालमा कफी खेती शुरु भएको लामो समय बितिसक्दा पनि एउटै अराबिका वर्णको टिपिका र बर्बन जातको मात्र कफी लगाएकाले उत्पादनमा बृद्धी हुन नसकेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

पछिल्ला समय नेपालीहरुले कफी अत्याधिक मात्रामा पिउन थालेका छन् । घर, कार्यालय, क्यान्टिन, होटल, रेष्टुरा लगायतका स्थानमा कफी पिउनेको जमात देखिन्छ ।

कफी पिउनेको संख्यामा बृद्धी भएसँगै यसको माग पनि अत्याधिक बढेको छ । नेपालले आफ्नो उत्पादनले धान्न नसकेर विदेशबाट समेत कफी आयत गरिरहेको छ ।

नेपालमा हाल ४२ जिल्लामा व्यवसायिक रुपमा कफी खेती भएको र एक वर्षमा १६ लाख किलो कफी उत्पादन हुने बताइएको छ ।