
जिल्लास्थित व्युटी पार्लर सञ्चालक व्यवसायीहरुको संस्था सौन्दर्य व्यवसायी संघ लमजुङले शनिबार आफ्ना संस्थागत सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ। विभिन्न शहरबजारमा व्युटी पार्लर व्यवसाय सञ्चालन गर्दै आएका ६५ जना सदस्य सौन्दर्य व्यवसायीलाई सदस्यता प्रमाणपत्र वितरण गरेको हो।
बेसीशहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सौन्दर्य व्यवसाय र व्यवसायीका समस्या, पीरमर्काका विषयलाई संस्थाले उठाउन सक्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
नगरपालिकासँग महिला सशक्तिकरण, व्यवसाय सवलीकरण, आर्थिक सशक्तिकरणका क्षेत्रमा सहयोगी कार्यक्रम र योजनाहरु रहेको जानकारी गराउँदै विपन्न परिवारका महिला दिदीबहिनीलाई समेट्न पनि उनले आग्रह गर्नुभएको छ ।
नगरपालिकासँग आर्थिक सहयोग भन्दा प्रवर्द्धनात्मक कार्यक्रम हुने जानकारी गराउँदै महिलालाई व्यवसायिक दक्षता अभिवृद्धि, स्वरोजगारी बनाउने, प्रशिक्षकको अवसर र लघु व्यवसाय सञ्चलान जस्ता पाटोमा सहयोग गर्न सक्ने समेत उपप्रमुख गुरुङको भनाई थियो ।
सो अवसरमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यालयबाट व्युटीपार्लर सम्बन्धि विभिन्न अवधिको तालिम गराउने जानकारी गराउँदै प्रशिक्षकक अवसर दिने र बोल्ने कला एवं संस्था सञ्चालन क्षमता अभिवृद्धि तालिमको लागि सहयोग गर्ने पनि थापाको भनाई थियो ।
कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले शुभकामना व्यक्त गर्दै व्यवसाय प्रवर्द्धनका लागि दुवै संस्था विच सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीत, लमजुङ उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यमी संघका अध्यक्ष पार्वती श्रेष्ठ लगायतले व्यापार व्यवसायसँगै आफ्नो पेशागत दक्षता अभिवृद्धि र सेवामा गुणस्तरीयता कायम गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
व्यवसायी संघकी अध्यक्ष तीर्थकुमारी घले श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको कोषाध्यक्ष संकल्प श्रेष्ठले संघको एक वर्षको १ लाख ७० हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष ममता गुरुङ र सहकोषाध्यक्ष रीता घलेले स्वागत एवं संस्थागत चिनारी गराउनुभएको थियो भने सचिव तारा गुरुङले कार्यक्रम सञ्चालन गनुभएको थियो ।