
काठमाडौं, स्थानीय तह (पालिका) को निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले प्रमुख राष्ट्रिय राजनीतिक दलहरूलाई बोलाएको छ। आगामी मंसिर ४ गते आयोगले दलहरूसँग औपचारिक परामर्श गर्न लागेको हो।
निर्वाचनको मिति घोषणाबारे गृह मन्त्रालयसँग प्रारम्भिक छलफल गरिसकेको आयोगले अब राजनीतिक दलहरूसँग चुनावको तयारी र मितिका विषयमा परामर्श गर्न लागेको हो।
निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आयोग निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। सरकार पनि निर्वाचनको मिति घोषणा गर्न सकारात्मक देखिएकाले आयोग उत्साहित रहेको उहाँको भनाइ छ।
आयोगका अनुसार निर्वाचन सम्पन्न गर्न कानुनी प्रक्रियाका लागि कम्तीमा १२० दिन आवश्यक पर्छ। त्यसैले मंसिर मध्यसम्म निर्वाचनको मिति घोषणा भए आगामी चैत मसान्तभित्रै पालिका चुनाव सम्पन्न गर्न सकिने आयोगको आकलन छ।
बर्खा र चर्को गर्मी सुरु हुनुअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले पनि छिट्टै मिति घोषणा गर्न आवश्यक रहेको आयोगले जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ।
यसैबीच, प्रदेश र स्थानीय तहको निर्वाचनको समयावधि फरक रहेकाले दुवै निर्वाचन एकैपटक गराउनेभन्दा छुट्टाछुट्टै समयमा गराउने आयोगको प्राथमिकता रहेको छ। प्रदेशका जनप्रतिनिधिको कार्यकाल भने आगामी वर्षको मंसिरमा मात्रै सकिनेछ।
संघीय सरकारमा झन्डै दुईतिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को स्थानीय र प्रदेश तहमा उपस्थिति नरहेकाले आगामी पालिका निर्वाचनलाई उक्त पार्टीका लागि जनमत परीक्षणको अवसरका रूपमा समेत हेरिएको छ।









