
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत अधिकारको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा पत्रकारमाथि भएका विभिन्न हस्तक्षेप र श्रम अधिकार उल्लंघनका घटनाप्रति विरोध जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो।
महासंघले गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले अनुदार व्यवहार देखाएको आरोप लगाएको छ।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम रहेको छ।
त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल ९पापड० सँग छलफल गर्ने, मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित धर्ना तथा भेला आयोजना गरिने महासंघले जनाएको छ।
महासंघले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता, श्रम अधिकार र पत्रकारको पेसागत सुरक्षाका विषयमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।










