प्रदेश अस्पतालका पाँच कर्मचारी पुरस्कृत, सामूहिक नृत्यमा डाक्टर समूह प्रथम

-


     सृजना बराल     
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङले चौथो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कृत गरेको छ। वार्षिकोत्सवकै अवसरमा आयोजित सामूहिक नृत्य प्रतियोगितामा डाक्टरहरूको समूह प्रथम भएको छ।

अस्पतालले कार्यसम्पादन, अनुशासन, बिरामीप्रतिको व्यवहार र सेवाप्रतिको जवाफदेहितालाई मूल्यांकन गर्दै पाँच कर्मचारीलाई सम्मान गरेको हो।

पुरस्कृत हुनेमा अस्पतालका कन्सल्टेन्ट डा. नारायणप्रकाश शर्मा, अस्पताल व्यवस्थापन अधिकृत प्रमिला ढकाल, मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरुङ, नर्सिङ स्टाफ रेशमकुमारी गुरुङ र कार्यालय सहयोगी वृन्दा रानामगर रहेका छन्।

बेँसीशहरमा सोमबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङलगायतले सम्मानित कर्मचारीलाई खादा, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

यसैगरी, वार्षिकोत्सवका अवसरमा अस्पतालमा कार्यरत कर्मचारीबीच आयोजित सामूहिक नृत्य प्रतियोगितामा डाक्टरहरूको समूह प्रथम भएको छ। प्रतियोगितामा अस्पतालका चार समूह सहभागी भएका थिए। अन्य समूहलाई पछि पार्दै उत्कृष्ट नृत्य प्रस्तुत गरेको डाक्टर समूहले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रथम हुने समूहलाई मुख्यमन्त्री पाण्डे र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुरुङले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कर्मचारीको कार्यसम्पादन र सेवाप्रतिको समर्पणलाई प्रोत्साहन गर्नुका साथै वार्षिकोत्सवलाई उत्सवमय बनाउने उद्देश्यले आयोजित सम्मान तथा नृत्य प्रतियोगिताले कर्मचारीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग पुगेको अस्पतालले जनाएको छ।