
पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतवारदेखि देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको हो।
आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुन सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।
वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी खेतमा काट्न बाँकी रहेको धानबाली तथा काटेर सुकाउन राखिएको पराल भिजेर क्षति हुन सक्ने भएकाले समयमै सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन्।
ठूलो वर्षाको सम्भावना नरहे पनि केही स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ। हिउँदमा हुने वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले भने यसलाई सकारात्मक रूपमा लिन सकिने मौसमविद् पोखरेलको भनाइ छ।
पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो सर्ने प्रकृतिको हुने भएकाले केही समय वर्षा भएर रोकिन सक्ने र असिना पनि सीमित क्षेत्रमा मात्रै पर्ने अनुमान गरिएको छ। मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि नियमित पूर्वानुमान तथा परामर्श हेर्न महाशाखाले आग्रह गरेको छ।









