भोटेकोशी बाढीपीडितका लागि लमजुङका दम्पतीले गरे ५ लाख सहयोग

-


     नयाँ दीप    
     भाद्र १३ गते २०८३ मा प्रकाशित


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका एक दम्पतीले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

बेसीशहर नगरपालिका–१०, सालडाँडाका सुवास भण्डारी र पुष्पा अर्याल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेका हुन्। रोजगारीका क्रममा दुवै जना हाल माल्टामा रहेका छन्।

स्थायी घर सालडाँडा भएका भण्डारी दम्पती पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–११, पार्वतीपुरमा बस्दै आएका छन्। विदेशमा रहे पनि देशमा परेको विपद्को पीडामा साथ दिन आफूहरूले सहयोग गरेको उनीहरूले बताएका छन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारी राहत कोषमार्फत रकम उपलब्ध गराइएको दम्पतीको भनाइ छ।

विपद्को समयमा तत्काल राहतको आवश्यकता पर्ने भएकाले आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्न पाएकोमा उनीहरूले खुसी व्यक्त गरेका छन्।

भोटेकोशी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सहयोग जुट्ने क्रम जारी छ। भण्डारी दम्पतीको ५ लाख रुपैयाँको सहयोगले विपद्मा परेका नागरिकप्रति विदेशमा रहेका नेपालीको सहयोगी भावना र ऐक्यबद्धता पनि देखाएको छ।