
जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०८२\०८३ मा वार्षिक लक्ष्यभन्दा बढी अर्थात् १०५.७ प्रतिशत मुद्दा फर्स्यौट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ। वार्षिक लक्ष्य र प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश शिशिरराज ढकालले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३४९ र चालु वर्षमा दर्ता भएका ६४५ गरी कुल ९९४ मुद्दामध्ये ७९० मुद्दा फर्स्यौट गरिएको जानकारी दिनुभयो ।
वार्षिक लक्ष्यअनुसार ७४७ मुद्दा फर्स्यौट गर्नुपर्नेमा लक्ष्यभन्दा बढी मुद्दा टुंग्याउँदै १०५.७ प्रतिशत प्रगति हासिल भएको ढकालले बताउनुभयो । संख्यात्मक हिसाबले पहिलोपटक १०० प्रतिशतभन्दा बढी मुद्दा फर्स्यौट भएको यो ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनुभयो ।
हाल अदालतमा २०४ वटा मुद्दा विचाराधीन रहेका छन्। तीमध्ये ६ महिनाभित्रका १७६, ६ महिनादेखि एक वर्षभित्रका १६, एक वर्षदेखि १८ महिनाभित्रका ९, १८ महिनादेखि दुई वर्षभित्रका ३ वटा रहेका छन् भने दुई वर्ष नाघेका मुद्दा एक पनि नरहेको अदालतले जनाएको छ।
मुद्दाको प्रकृतिअनुसार हालसम्म देवानी ५८७, सरकारवादी फौजदारी १६६, दुनियाँवादी फौजदारी ४२ र निषेधाज्ञा पुनरावेदन ५ गरी कुल ७९० मुद्दा फर्स्यौट भएका छन्।
अदालतका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ताको संख्या पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। क्षतिपूर्तितर्फ अघिल्लो वर्षको ७५ लाख १२ हजार १७२ रुपैयाँ लगतमध्ये ७ लाख ४९ हजार ४२८ रुपैयाँ सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा १६ लाख ४५ हजार २१६ रुपैयाँ क्षतिपूर्ति तोकिएकामा १ लाख ६४ हजार ६६८ रुपैयाँ सङ्कलन भएको छ। दुवै वर्षको गरी कुल ८१ लाख ९३ हजार २९२ रुपैयाँ क्षतिपूर्ति रकममध्ये ९ लाख ६४ हजार ६९० रुपैयाँ सङ्कलन भएको अदालतले जनाएको छ। उक्त रकमबाट १२ जना पीडितले क्षतिपूर्ति प्राप्त गरेका छन्।
फैसला कार्यान्वयनतर्फ पनि अदालतको गतवर्षका कुल १० करोड ४३ लाख ७३ हजार ३१७ रुपैयाँ लगत रहेकोमा २ लाख ७६ हजार ४४९ रुपैयाँ फस्र्योट भएको छ। चालु आर्थिक वर्षमा ८३ लाख ६३ हजार ८०६ रुपैयाँ लगत थपिएकोमा ४२ लाख १ हजार १५६ रुपैयाँ फस्र्योट गरिएको अदालतले जनाएको छ ।
गत वर्षको बाँकी जिम्मेवारी र चालु आर्थिक वर्षको लगतसमेत जोड्दा हाल फैसला कार्यान्वयन लगततर्फ १० करोड ८२ लाख ५९ हजार ६०६ रुपैयाँ फस्र्योट हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ।









