‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानमा १३ उत्कृष्ट कृषक सम्मानित

-


     नयाँ दीप    
     असार २४ गते २०८३ मा प्रकाशित


कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले लमजुङको बेसीशहर नगरपालिकाले ‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानअन्तर्गत उत्कृष्ट उत्पादन गर्ने १३ जना कृषकलाई करिब २ लाख रुपैयाँ बराबरको उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ।

बुधबार नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा बाली तथा मह उत्पादनमा उत्कृष्ट नतिजा हासिल गरेका कृषकहरूलाई सम्मानसहित प्रोत्साहन अनुदान प्रदान गरिएको हो।

बाली उत्पादनतर्फ वडा नं ११ का सिताराम विश्वकर्मा सर्वोत्कृष्ट हुँदै रु.७८ हजार १२९ प्रोत्साहन अनुदान प्राप्त गर्नुभयो। त्यसैगरी मह उत्पादनतर्फ वडा नं ४ का पवन गुरुङले रु. ५१ हजार ७८७ प्रोत्साहन अनुदान प्राप्त गर्नुभयो। अन्य उत्कृष्ट कृषकहरूलाई समेत उत्पादनका आधारमा प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा नगर प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ तथा प्रमुख प्रशासनिक अधिकृत सुमन अधिकारीले उत्कृष्ट कृषकहरूलाई खादा, टीका, सम्मानपत्र तथा प्रोत्साहन रकम हस्तान्तरण गर्दै सम्मान गर्नुभयो।

उक्त अवसरमा नगर प्रमुख अर्यालले उत्पादन गर्ने कृषकको मेहनतको सम्मान गर्दै कृषि उत्पादन वृद्धि, व्यावसायिक खेतीको विस्तार तथा स्थानीय स्तरमा कृषि आत्मनिर्भरता हासिल गर्न नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

बेसीशहर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।